
सिरहा— जिल्लाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो ।
सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताउँछन् ।
२०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नु पर्नेमा तेस्रो पटक ०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन ।
निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने बताए ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दुरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए ।
उनले भने, ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो ।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् ।
गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखा पर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ ।
प्रादेशिक कार्यालय जनकपुरधामका इञ्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि ३७६ पोल गाड्नु पर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सवस्टेसन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ ।













