बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ को मृत्यु

बारा— बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।
बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा तथा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०८:०१













