भारतमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ को मृत्यु
काठमाडौं— भारतको मिजोरमको आइजल जिल्लामा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर पर अवस्थित सैराङ क्षेत्रमा भएको हो ।
पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एक टोली घटनास्थलमा पुगेको थियो । बुधबार भएको सो दुर्घटनामा घाइते भएकाहरूको पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।
घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति दिने जनाएका छन् ।
प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०७:२५













