
काठमाडौं— मनसुनी गतिविधि सक्रिय भएको छ । गए रातिदेखि नै वर्षा भइरहेको छ । बिहीबार बिहान, दिउँसो र बेलुका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
बिहीबार बेलुकी (राति) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भारी वर्षाको समेत सम्भावना रहेका क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भावना रहेको विभागको भनाइ छ ।
जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।













