News Griha :: न्यूजगृह
चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले बुधबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् । प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवम् अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन् ।

भारतले बुधबार चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २०:४४
Weather Update