News Griha :: न्यूजगृह
नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो 

काठमाडौं— प्रतिनिधि सभाको बुधबारको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाको बैठकमा पेस गरेका थिए ।

सभामुख देवराज घिमिरेले यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत भएको हो । सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्याविधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष पेस गरेका थिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि, २०८० गत असार ३० मसान्तसम्म रहेकोमा शान्ति प्रक्रियाको काम बाँकी रहेकाले दुवै आयोगको कार्यावधि, २०८० पुस मसान्तसम्ममा रहने गरी मन्त्रिपरिषद्बाट आदेश जारी गरिएको बेहोरा मन्त्री गुरुङले सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:३२
Weather Update