
काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट जग्गाको छानबिन हुनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले तत्कालीन एमाले सरकारको पालामा गिरिबन्धु टी स्टेटको जग्गा बदनियत राखेर टी स्टेटलाई चलाउन दिएको बताए ।
गिरिबन्धु टी स्टेटको जग्गा बहुचर्चित ललिता निवासको जग्गा प्रकरणभन्दा पनि खतरनाक रहेको भन्दै उनले भने,‘गिरिबन्धु टी स्टेटको जग्गा झन्डै ६५ सय रोपनी कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रम्ह्लुट गर्ने काम भएको छ । यसमा सरकार चनाखो हुनुपर्छ ।’
सांसद खतिवडाले शहरीकरणको नाममा तत्कालीन सरकारले टी स्टेटको जग्गा व्यक्तिको स्वार्थ पूर्ति गर्न ललिता निवास भन्दा ठूलो घोटाला गरेको भन्दै त्यसमा छानबिन गर्नुपर्ने माग गरे ।
उनले भने, ‘२०११ सालमा जग्गा हदबन्दी गरिँदा उद्योगधन्दाको निम्ति कम्पनीअन्तर्गत राख्न छुट दिने नीति सरकारले लिएको थियो । २०२९ सालमा गिरिबन्धु टी स्टेटको नाममा ५०० बिघा जग्गा कायम भएको थियो । उक्त जग्गालाई शहरीकरणको नममा कम मूल्यमा बेच्ने र डाडामा लगेर जग्गा सट्टा भर्ना गर्ने काम भएको छ । यो ललिता निवासभन्दा ठूलो भ्रष्टाचार गर्ने प्रपञ्च गरिएको छ । यसमा छानबिन गर्नुपर्छ ।’













