
काठमाडौं— नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसद्मा दिन माग गरे ।
उनले भने, ‘केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो । यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उत्शृंखल तत्वहरूले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ ।’ उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताए। उनले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताए ।
भण्डारीले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरूले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बनाए। सांसद भण्डारीले नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खलबल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्त्वहरूको अवाञ्छित क्रियाकलाप बढ्दै गएको प्रति दुःख व्यक्त गरे ।













