News Griha :: न्यूजगृह
डेंगु नियन्त्रण गर्न काठमाडौंमा नगर प्रहरी परिचालन 

काठमाडौं— काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ ।

लार्भा नष्ट गर्ने अभियानसँगै काठमाडौं महानगरले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।’

अहिले नियमित रुपमा पानी परिरहेको छ । आकाशे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइने पौडेलले बताए ।

‘लार्भिसाइड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानी गर्दैन । यो विषादी होइन । उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ,’ प्रमुख पौडेलले भने । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४९
Weather Update