News Griha :: न्यूजगृह
पाँच दिनपछि खुल्यो पहिरोले अवरूद्ध बेनी—जोमसोम सडक

म्याग्दी— मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोमसडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखिदुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ।

अन्नपूर्ण गाउँपालिकाको जलथले,गुँइठे,सुकेबगर,खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर बिहान सडक खुलाइएको जानकारी दिए। सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदलयात्रा गर्न बाध्य भएका थिए। सडक मर्मतका क्रममा गुँइठेको भीरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभास कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरी यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरूलाई अनुरोध गरेको बताए ।

गत साउन २४ गते बेनी–जोमसोमसडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण–७ महभीरका ४० वर्षीय लुप्सनशेरपुजाको मृत्यु भएको थियो । बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिराको समस्या समाधान भए पनि जलथले–दुवारी खण्डमा पहिराले दुःख दिन थालेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:२७
Weather Update