काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानमा अड्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरूको गठजोडमा आफू नलाग्ने बताए ।
आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराए ।
‘अस्ति भर्खर हामीले गरेर हेरेनौं वामपन्थी एकता । प्रधानमन्त्री खुवाइयो । डुँडमा प्रधानमन्त्री खाँदैछ होला भनेको त उतापट्टी गए । एउटा पत्रिकाले कार्टुन निकालेछ अंकमाल गरेको । मुख उता फर्काको । थुतुनो उतापट्टी यति लामो निकालेको । मैले यसो हेरेँ, पत्रकारले पनि बुझेकै रहेछ । हामीलाई त थाहा थियो नै । अंगालो मसँग मारेको छ । मुन्टो उता फर्काको छ । थुतुनो यति पसारेको छ,’ ओलीले भने,‘यस्तो एकता खोजेर, यस्ता एकताको पछाडि लागेर, यस्ता इमानमा अड्न नसक्ने र इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरूसँग गठजोड गरेर हुँदैन । आफू शक्तिशाली हुनु पर्यो नि । आफू कमजोर हुने अनि यता खोज्ने, उता खोज्ने । याे त प्रचण्ड चाल भई गो नि ।’
ओलीले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए ।













