
काठमाडौं— नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्ण कुमारी थापा मगरले सामुदायिक विद्यालयमा बालविकास शिक्षक (ईसीडी) आवश्यक छ कि छैन भन्ने कुरा राज्यले बुझ्नुपर्ने बताएकी छिन् ।
नेपाल शिक्षक महासंघले गरेको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राज्यलाई ईसीडी शिक्षक आवश्यक भए उनीहरूलाई समयोचित सेवा सुविधाको ग्यारेन्टी शिक्षा ऐनमै गर्न माग गरिन् ।
उनले भनिन्,‘ लामो समय हुँदा पनि राज्यले हाम्रा माग मुद्दाहरू सुनुवाइ गरेको अवस्था छैन । आज हामी यो स्थानमा आइपुग्ने पनि राज्यले नै गराएको हो । विद्यालयमा बालविकास शिक्षक आवश्यक छ कि छैन भन्ने सरकारले बुझ्नुपर्छ ।’
संसदमा टेबुल गर्न लागिएको प्रस्तावित संघीय शिक्षा ऐनमा बालविकाससम्बन्धीका प्रस्तावहरूप्रति ३६ हजार बालविकास शिक्षक सहमत नभएको बताउँदै उनले संशोधन गर्न आग्रह गरिन् । बालविकास शिक्षकको माग र मुद्दा सम्बोधन नगरिए आन्दोलन गर्न बाध्य हुने बताइन् ।













