प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मंगलबार बोलाएको सर्वदलीय बैठक नेताहरूको समय अभाव भएको भन्दै बुधबारका लागि सारिएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले समय अभावले बैठक बस्न नसकेको जानकारी दिएका थिए ।
समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनको भनाइ थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक छन् ।
त्यसैगरी बुधबार दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सो बैठक अघि सर्वदलीय बैठक बस्न लागेको छ ।
साे बैठकमा उच्चस्तरीय छानबिन समिति गठनदेखि संसद् नियमित सुचारुका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० ०६:२३













