News Griha :: न्यूजगृह
अवैध कुखुरा आयात रोक्न निर्देशनसँगै मासुको मूल्य वृद्धि हुन सक्ने

काठमाडौं— गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी ओसारपसार हुन सक्ने कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलबार सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो ।

कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार हुँदै आएको छ । 

यसको मारमा आफूहरू परेको भन्दै कुखुरा उद्योगी व्यवसायीले त्यसको नियन्त्रणका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका थिए । 

सोमबार सरोकारवालासँगको बैठकमा उनले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर यसको प्रभावकारी नियन्त्रण गरिने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:०१
Weather Update