
काठमाडौं— नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायसम्पादन प्रकृयालाई तिव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार कार्यभार सम्हाल्दै उनले न्यायसम्पादनलाई छिटो छरितो र विश्वसनीय बनाउने बताए ।
श्रेष्ठले भने, ‘हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अविलम्ब थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरूको चासोलाई सकारात्मकरुपमा लिएको छु । र म यहाँहरूलाई यो विश्वास दिलाउन चाहन्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटो भन्दा छिटो अर्थात् औपचारिक अनौपचारिक रुपमा प्रकृया भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्न लाग्छु ।’
त्यस्तै उनले सबैभन्दा पहिला पुराना मुद्दाहरूलाई फछर्यौट गरेर जाने नीति नै लिएको उल्लेख गरे । श्रेष्ठले न्यायपालिका सुधारको लागि कायम मुकायम हुँदा खेरि नै केही कामको थालनी गरेको भन्दै कार्यगत अनुभवको आधारमा सबैको सहकार्यमा न्यायपालिकाको सुधारमा थप कार्य गरी न्यायक्षेत्रलाई सुधार गरेर जाने बताए । जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिवद्धता छ ।













