News Griha :: न्यूजगृह
अमेरिकामा डढेलोबाट ११५ जनाको मृत्यु, ८५० जना बेपत्ता
फाइल फोटो

काठमाडौं— अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बस्तीमा फैलिँदा ११५ जनाको मृत्यु भएको छ ।

माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणअनुसार ८५० जना अझै हराइरहेका छन् । उनीहरूको खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ । 

आगोको चपेटामा परेका सबै एक तले आवासीय भवनमा खोज जारी छ । अबको खोजी व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताए । 

राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको आग्नी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सात्वाना दिएका थिए ।

राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा संघीय सरकारबाट सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

अग्नी पीडित समुदायलाई सम्बोधन गर्दै उनले भने, 'हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौं र माउईका जनताले निर्माण गर्न चाहेअनुरुप पुनर्निर्माण गर्नेछौँ ।'

गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २०:३८
Weather Update