News Griha :: न्यूजगृह
कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित ?

काठमाडौं— नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रीय कार्यसमितिले भदाै १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो ।

भारी वर्षा, बाढीपहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रुपमा प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए ।

‘भारी वर्षा, बाढीपहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रुपमा प्रभावित भएकाले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरुलाई आह्वान गर्ने र भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,’ उनले भने ।

कांग्रेसले गत साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:५८
Weather Update