News Griha :: न्यूजगृह
कांग्रेस नेता विश्वकर्माले भने— रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमीत

काठमाडौं— नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमीत रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको दाबी गरे  ।

उनले भने,‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने ? अब  घिउजस्तै चिज बेच्ने कि वास्तविक घिउ नै बेच्ने भन्ने कुरा हो । घिउजस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो ।’

विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना गरे । उनले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:३९
Weather Update