
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन मन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । उनी २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जाने छन् ।













