News Griha :: न्यूजगृह
‘सत्तापक्ष हुँदा संसदमाथि खड्ग प्रहार गर्ने, प्रतिपक्षमा हुँदा अवरोध गर्ने’
फाइल तस्बिर

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा अवरोध गरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको दाबी गरे । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानुनहरू निर्माण गर्न नदिन अवरोध गरिएको बताए ।

उनले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदा पनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा बखेडा झिकेर बैठक चल्न नदिएको अरोप लगाए । प्रतिपक्षको अवरोधका कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनु परेको उनले बताए ।

‘चाहे सत्तापक्षमा होस्, चाहे प्रतिपक्षमा होस्, एउटा अक्षरको साहारा लिएर उहाँले यो सदनलाई अवरोध पुर्‍याइरहनु भएको छ,’ उनले भने, ‘सत्तापक्ष हुँदा प्रतिनिधि सभामाथि खड्ग प्रहार गर्ने, प्रतिपक्ष हुँदा पनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो ।’ यस्तै, उनले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानु पर्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:१२
Weather Update