
काठमाडौं— समय अभाव भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले समय अभावले बैठक बस्न नसकेको जानकारी दिए ।
‘आज प्रधानमन्त्री र सभामुख ज्यूबीच टेलिफोन कुराकारी भयो, प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो,’ उनले भने, ‘समय लिएरै छलफल गरौँ भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ, बैठक ११ बजे यही सिंहदरबारमा बस्छ ।’
उनले मंगलबारको कार्यदल बैठकसमेत सकरात्मक रुपमा सकिएको बताए । उनले भने ‘आजको बैठक सकरात्मक छ, समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’
समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।













