भरतपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागेको बताएका छन् ।
भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको बताए । यस्तै, भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको दाबी गरे ।
यस्तै, उनले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको भन्दै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताए । उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिइनु पर्ने बताउँदै विगतभन्दा अहिले उत्पादनमा तीव्रता आएको बताएका थिए ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।