
काठमाडौं— कूल ७४ किलोमिटर लामो प्रसारण लाइन निर्माण समयमा सम्पन्न हुन नसक्दा हेटौँडा आसपास केन्द्रित हुने बिजुली पश्चिम नेपाल लैजान समस्या पर्दै आएको थियो ।
एकाध टावर निर्माणमा लामो समय लाग्दा आयोजनाले खेप्नु परेको हैरानी आफैमा धेरैका लागि सिक्ने र जान्ने विषय बन्न पुगेको छ ।
नेपालको विकास निर्माण कसरी बेथितिमा फस्छ र समय तथा लागत दुवै बढ्न पुग्छ भन्ने उदाहरण बन्न पुगेको आयोजना हो, भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन ।
चितवनको भरतपुर महानगर–११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ–मर्स्याङदी करिडोरको बिजुली जोडिने छ । सो आयोजनाको लागत एक अर्ब ५२ करोड रहेको छ । यस्तै, हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको कूल लागत पाँच अर्ब ९४ करोड बराबर छ ।
भरतपुर महानगरको आँपटारीबाट पश्चिम जाने प्रसारण लाइन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुनेछ । सो आयोजना २०६७ मा सुरु भएको हो ।
नियमित रुपमा काम भएको भए सो प्रसारण लाइन ०७२ मा सम्पन्न भइसक्नु पर्ने थियो । वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या भोगेको आयोजनाले स्थानीयको अवरोध पनि उत्तिकै झेल्नु परेको थियो ।
भरतपुर महानगर–११ आँपटारीमा निर्माण भएको नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।
प्रसारण लाइनको मार्ग परिवर्तन गर्न माग गर्दै स्थानीयले गरेको अवरोध, रूख कटानको समस्या, ठेकेदारको कमजोर कार्य सम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना गत साउन ३० गते मात्रै सम्पन्न भएको हो ।
आयोजनामा देखिएको समस्या समाधानका लागि सरकार, नेपाल विद्युत् प्राधिकरणले गरेको मेहनत पनि आफैमा अध्ययन गर्नलगायत विषय बनेको छ ।
प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । कूल २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभी क्षमतामा नै सञ्चालनमा ल्याइने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताउँछन् । सोही आयोजना मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
‘निरन्तरको प्रयासपछि प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालु रहेको १३२ केभी क्षमताको सिङ्गल सर्किट मात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या पर्दै आएको थियो ।’
२२० केभी क्षमताको लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज भएको तथा भोल्टेजमा पनि सुधार हुने प्राधिकरणको विश्वास छ ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न गरेको माग सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले ०७७ चैत २५ मा स्थानीयको मागअनुसार नै अन्तरिम आदेश थियो । सोही कारण दुईवटा टावर निर्माण हुन नसक्दा आयोजना उल्झनमा फस्न पुग्यो ।
सर्वोच्चले ०७९ असार १२ मा अन्तरिम आदेश खारेज गरिदियो । सर्वोच्चले मार्ग प्रशस्त गरिदिएपछि ०७९ चैतमा स्थानीयसँग मुआब्जा र क्षतिपूर्तिका बारेमा छलफल भयो र सहमति भयो । अन्ततः प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित तीन सर्किट भएका छन् । यसअघि पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो ।
भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिङ्गल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो ।
आयोजनालाई हेटौँडा–भरतपुर र भरतपुर–हेटौँडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।