
काठमाडौं— सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएको थियो । योसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।
सोही जिम्मेवारीअनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरमा बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।
‘हामीलाई दुई बजे राष्ट्रिय दलहरूको बैठक सम्माननीय प्रधानमन्त्री जीले बोलाउनु भएको छ, त्यो बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहिँ कुरा भएको थियो, हामीले त्यसलाई तयार गरेका छौँ, हामी त्यो बैठकमा प्रस्तुत गर्छौं,’ उनले भने । उनले आफूलाई दिएको जिम्मेवारीको काम फत्ते गरेको बताए ।
प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु पर्ने माग राख्दै साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
अब बस्ने सर्वदलीय बैठकले मस्यौदामाथि छलफल गरी समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुरु हुने उनको भनाइ थियो ।













