News Griha :: न्यूजगृह
नेकपा एसलक्षित ओलीको टिप्पणी— भवितव्यमा दुई सिट आयो, एमालेविरुद्ध बोले, मन्त्री भए

काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै ‘एमाले विरोधी हुँ’ भन्नेहरू नेता तथा सांसद वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । 

एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री बनाएको ओलीको दाबी छ । उनले सत्तारुढ दल दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि बताए ।

‘भवितव्यमा दुई वटा सिट आयो । एमालेकाविरुद्ध बोले । मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ,’ ओलीले भने ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटै नीति, विचार, संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे ।

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १८:१०
Weather Update