
काठमाडौं— सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफ्नो छाया देखेर नेकपा एमालेले डराएको बताएका छन् ।
मंगलबार ललितपुरस्थित बालकुमारीमा बसेको पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो र नेकपा एसको छायामा एमाले डराएको बताएका हुन् ।
‘आज राष्ट्रपतिले बोलाउनु भएको सर्वदलीय बैठकमा एमाले गएन,’ अध्यक्ष नेपालले भने, ‘सम्भवत त्यहाँ मेरो छाया देखेर होला, एकीकृत समाजवादीको छाया परेकाले नआएको होला, हाम्रो छायामा एमाले डराएको होला ।
यस क्रममा उनले एमालेप्रति लक्षित गर्दै आफूहरू ठूलो हृदय भएको दाबी गरे । ‘हामीसँग त्यत्ति सानो चित्त छैन, विचार मिल्नेसँग हामी हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ,’ उनले थपे, ‘अरूको अपमान गर्दैनौँ, हामी अरूलाई धारे हात लगाएर मात्रै हिँड्दैनौँ ।'
संघीय सरकारको दुवै सदन अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान सर्वदलीय बैठक आह्वान गरेका थिए ।













