News Griha :: न्यूजगृह
एमाले नेता गुरुङ भन्छन्– संघीयतामाथि हमला भयो, सहन सकिन्न

काठमाडौं— नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन् ।

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले संघीयतामाथि हमला भएको बताएका हुन् ।

उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताए ।

उनले संघीयता कार्यान्वयन गर्न फेरि आनाकानी भइरहेको बताए । संघीयता विरोधीले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै उनले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए ।

उनले भने, ‘सात वटा प्रदेशमाथि नै हमला भइरहेको छ । संघीयताविरोधीहरूले नारा लगाइरहेका छन् । खुलमखुला भनिरहेको छ, राजा फर्काइन्छ, हिन्दुराज्य स्थापना गरिन्छ । यो सहन सकिन्न । यसको हामीले यथोचित् जवाफ दिन सक्नुपर्छ ।’

संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने गुरुङले चेतावनी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:५१
Weather Update