
जनकपुर— मधेस प्रदेशमा लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् ।
यसका लागि धमाधम पशुलाई रोगविरुद्ध खोपसहित सचेतनाका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२ गतेसम्म २८ हजार ९९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ ।
केन्द्रको प्रमुख डा. सञ्जीवकुमार ठाकुरले जिल्लाका सबै पालिकाका २९ हजार ५८० पशुलाई खोप लगाएको जानकारी दिए ।
यसमध्ये प्रदेश सरकारबाट सात हजार ९९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको उनले बताए ।
जिल्लामा २९ हजार ४४६ गाई तथा गोरु र १३४ भैँसी तथा रागा लम्पी स्किनबाट संक्रमित भएका थिए । तीमध्ये ६८० गाई तथा गोरु मरेका थिए । जिल्लामा हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ ।
लम्पी स्किनको संक्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ । यसका कारण दूध घट्ने र घाँसपात राम्ररी नखाने समस्या देखिने गरेका छन् ।













