News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दै छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गरिने छ ।

पार्टी स्थापना भएको करिब २ वर्षमा पनि महाधिवेशन हुन सकेको छैन । पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा संगठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुंगो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवम् घटनाक्रमका साथै संगठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्ने जनाइएको छ ।

ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:००
Weather Update