
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।
सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सोसम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउन सत्ता पक्षले सहमति जनाएको र मंगलबारसम्म आफ्नो प्रतिबद्धता अडिए संसद् चल्ने बताए ।
उनका अनुसार उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको छ ।
राति ११ बजे बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए ।
‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो । नेताहरूलाई जिम्मा दिएको छ । मंगलबार संसद् खुल्नेमा विश्वस्त छु,’ उनले भने ।
सर्वदलीय बैठक मंगलबार बिहान ११ बजे फेरि बस्ने तय भएको छ । शीर्ष नेताहरूको बैठक मंगलबार दिउँसो २ बजे बस्ने नेताहरूले बताएका छन् ।













