News Griha :: न्यूजगृह

काठमाडौं— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक आपराधिक मामिलालाई लिएर अभियोग लगाइएको छ । यदि अभियोग साबित भएमा उनी जेल समेत जान सक्छन् । सन् २०२४ को राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन लागेका ट्रम्पको राजनीतिक ‘करिअर’मा के कस्तो असर पर्छ, त्यसबारेमा चर्चा गरेका छौं ।  

ट्रम्प किन चर्चामा ?

गएको बिहीबार न्यूयोर्कको ‘ग्र्याण्ड जुरी’ले ट्रम्पलाई अभियोग लगाउन मतदान गरेका थिए । सन् २०१६ मा राष्ट्रपतय चुनावअघि कथित ‘अफियर’बारे मौन रहन ‘पोर्न स्टार’ स्टर्मी डेनियललाई १ लाख ३० हजार अमेरिकी डलर भुक्तानी गरेको आरोप उनीमाथि लागेको छ । यस मामिलामा अनुसन्धान गरिरहेका न्यायाधिशहरुले ट्रम्पको विरुद्ध मतदान गर्दै आरोप तयार पारेका हुन् । 

७६ वर्षीय ट्रम्पमाथि के के आरोप लागेको छ,अझै खुलेको छैन । तर आगामी मंगलबार उनलाई गिरफ्तार गरी म्यानहट्टनमा ‘ग्र्याण्ड जुरी’ समक्ष उपस्थित गराएपछि मात्रै आरोपहरुबारे जानकारी गराइनेछ ।

ट्रम्पमाथिको आरोप के हो ?

स्टर्मी डेनियलले ट्रम्प र आफूबीच सन् २००६ मा ‘अफियर’ चलेको खुलासा गरेकी थिइन्, जसलाई ट्रम्पले सधैँ अस्वीकार गर्दै आएका छन् । सन् २०१६ मा उनले ट्रम्प र आफूबीच के भएको थियो भनेर मिडियामा आफ्नो घटना बताउन समेत खोजेकी थिइन् । तर ट्रम्पका पूर्ववकिल माइकल कोहेनले उनलाई चुप रहन ठूलो रकम तिरेका थिए । जसमा कोहेन म्यानहट्टनको संघीय अदालतबाट दोषी स्वीकार ठहर भएका थिए । आपराधिक कर छली र चुनाव र्‍यालीमा वित्त उल्लङ्घनसहित आठवटा मुद्दाहरूमा उनलाई दोषी पाइएको थियो ।

‘पोर्न स्टार’ लाई रकम दिनु गैरकानुनी होइन, तर कोहेनलाई भरपाई तिरेको रकम उनको खातामा देखिएपछि ट्रम्प समस्यामा परेका हुन् । उनले उक्त रकम आफ्नो वकिललाई कानुनी शुल्कको लागि भुक्तानी गरेको बताएका थिए । तर उनीमाथि आफ्नो व्यवसायिक अभिलेखलमा झुटो विवरण राखेको आरोप छ । सो घटना अमेरिकीहरूले मतदान गर्नुभन्दा ठिकअघि भएको थियो । जसले गर्दा चुनावी अभियानलाई मद्दत गर्ने भुक्तानीहरूबारेको कानुनहरू पनि उल्लङ्घन भएको हुनसक्ने आशंका गरिएको छ ।

अब अदालतमा मुद्दा चल्नेछ, जहाँ ट्रम्पले आफ्नो मुद्दा प्रस्तुत गर्नेछन् । उनले सबै आरोपहरुलाई अस्वीकार गर्दै राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । उनीमाथि अनुसन्धान गर्न संघीय अभियोजकले नभई न्यूयोर्कको महान्यायाधिवक्ता लेटिया जेम्सको तर्फबाट सुरु गरिएको थियो, जो डेमोक्रेटिक पार्टीको पक्षधरको रुपमा चिनिन्छिन् । त्यसैले ट्रम्पले उक्त आरोपलाई ‘न्यायको लागि नभई राजनीतिको लागि प्रेरित’ भएको अभिव्यक्ति दिँदै आएका छन् । 

राजनीतिक रुपमा फाइदा कि घाटा ?

यस अभियोगले ट्रम्पलाई नाफा या नोक्सान के हुन्छ, अहिले भन्न सकिने अवस्था छैन । यसलाई दुई भागमा हेर्न सकिने राजनीतिक विश्लेषकहरु बताउँछन् । पहिलो रिपब्लिकन पार्टीको तर्फबाट हुने उम्मेदवारी र दोस्रो सन् २०२४ मा राष्ट्रपतिको लागि हुने चुनाव । रिपब्लिकन पार्टीको तर्फबाट प्रमुख दाबेदारीमा ट्रम्प सबैभन्दा अगाडि छन् । सो पार्टीबाट अरुले पनि दाबेदारी दिएका छन् । जसमा उनका नजिकका प्रतिस्पर्धी फ्लोरिडाका गर्भनर रन डिसेन्टिस हुनसक्छन् । तर उनले अहिलेसम्म आफ्नो दाबेदारी पेश गरेका छैनन् ।

गत वर्ष ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिनुका साथै दुईटा अभियोग लगाइएको थियो । त्यसबेला रिपब्लिकन पार्टी र त्यसका मतदाताले उनलाई अत्यधिक समर्थन गरेका थिए । त्यसैले उनीमाथि यो आरोप होस् वा अन्य आरोपहरु लगाइयोस्, त्यसले पार्टीमा उनको दाबेदारीलाई झन् पक्का गर्ने बेलायती समाचार संस्था बीबीसीको भनाइ छ । 

सन् २०२४ को राष्ट्रपतिय चुनावमा जो बाइडेनले प्रतिस्पर्धा गर्ने नगर्नेबारे केही बोलेका छैनन् । यदी बाइडेन उठेमा प्रतिस्पर्धा सन् २०२० को जस्तै हुनसक्छ । तर के यस निर्वाचनमा ट्रम्प आफ्नो पक्षमा नयाँ मतदाताहरु जोड्न सक्छन् ? यो ठूलो प्रश्न हो । उदाहरणको लागि अमेरिकाको उपनगरीय क्षेत्रमा महिला मतदाताहरुको संख्या अत्यधिक छ । ‘पोर्न स्टार’लाई पैसा दिने आरोप लागेको उम्मेदवारलाई उनीहरुले समर्थन गर्लान् ?

यस्तै, उनीविरुद्ध अन्य आरोप पनि उत्तिकै छ । जस्तो सन् २०२० को राष्ट्रपतिय चुनावमा जर्जिया राज्यको नतिजालाई नमान्नु र ६ जनवरी २०२१ को दंगामा ट्रम्पको आपत्तिजनक अभिव्यक्ति ।

के ट्रम्प दोषी ठहरिए जेल जान्छन् ?

ट्रम्पमाथि लागेको आरोपको सबैभन्दा सम्भावित नतिजा जरिवाना हो, तर उनी जेल जान सक्ने सम्भावना पनि उत्तिकै रहेको बीबीसीले जनाएको छ । यदि कुनै पनि आरोप गम्भीर छ, जसलाई अमेरिकामा अपराध भनिन्छ । त्यसो भएमा ट्रम्पले अधिकतम चार वर्षको जेल सजाय पाउन सक्छन् । तर कानुन विज्ञहरूले उनी जेलमा पर्ने कुरा असम्भव रहेको बताएका छन् ।

के ट्रम्प अझै पनि राष्ट्रपतिको लागि लड्न सक्छन्?
ट्रम्पमाथि आरोप लागेपनि उनले आफ्नो चुनावी अभियान जारी राख्न सक्छन् । अमेरिकी संविधानमा उनलाई चुनाव लड्नबाट रोक्न सक्ने केही छैन । यदी उनी जेलमा परे पनि सैद्धान्तिक रूपमा राष्ट्रपतिको लागि उम्मेदवारी दिन र चुनाव जित्न सक्छन् ।

तर व्यावहारिक रुपमा कठिनाइ पनि छ । किनकि लामो कानुनी लडाइँ र अदालती प्रक्रियाले धेरै समय र ऊर्जा लिनेछ । जसले गर्दा राष्ट्रपतिय चुनावी अभियान विचलन हुने र चुनावी अभियानको तालिकामा असर पर्नेछ ।

ट्रम्पमाथि पहिले छानबिन भएको थिएन ?

राष्ट्रपति हुँदा ट्रम्पले दुईवटा महाभियोगहरुको सामना गरे । तर दुवै पटक अमेरिकी सिनेटबाट निर्दोष साबित भए । अहिले उनी राष्ट्रपति छैनन् र महाभियोग लगाउन पनि सकिदैन । तर त्यसको सट्टा उनीमाथि अभियोग लगाउन सकिन्छ र धेरै आपराधिक अनुसन्धानको सामना उनले गर्नुपर्ने हुन्छ । यी अनुसन्धानहरु जारी छ र आगामी महिनाहरूमा यिनीहरुको बारेमा थप सुन्नेछौँ । मंगलबार गिरफ्तार भइसकेपछि यी आरोपहरु पुष्टि भई कारबाही हुन महिनौँ लाग्न सक्छ । 

-एजेन्सीको सहयोगमा 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:१२
समसामयिक
Weather Update