
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बसेको बैठकबाट नेकपा एमालेका सांसदहरू नाराबाजी गर्दै बाहिरिएका छन् ।
सोमबार दिउँसो बसेको बैठकसँगै प्रतिपक्षी दल एमालेका सांसदहरू विरोधमा उत्रिएका हुन् ।
प्रदेश सभा बैठक सञ्चालन गर्न सभाध्यक्षको भूमिकामा रहेका नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएसँगै एमालेले विरोध गरेको हो ।
सभाध्यक्षको भूमिकामा रहेका मन्सुरीले नेकपा माअोवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई उक्त जिम्मेवारी दिँदै मतदान गरेका थिए । उनले मतदान गर्न गएसँगै एमालेका सांसदहरूले विरोधमा उत्रिएका हुन् ।
प्रतिपक्षी दलकाे विरोधका बीच मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । विश्वासको मतदानअघि एमालेका सांसदले रोष्ट्रममा बोल्दै सभामुखको भूमिकामा रहेका व्यक्तिले मत दिन नपाउने माग राखेका थिए ।
विरोधका बीच प्रदेश सभा बैठकमा मतदानको परिणाम सार्वजनिक गरिएको थियो । जसमा मुख्यमन्त्री थापाको ४७ मतका साथ विश्वासको मत पाए ।
मुख्यमन्त्री थापाको विपक्षीमा ३० मत मात्रै परेको थियो । जबकी, कोशीमा एमाले सांसदको संख्या ४० रहेको छ भने अर्का प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६ सांसद रहेका छन् ।
मुख्यमन्त्री थापाले साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर समर्थन लिँदै मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, तत्कालीन सभामुखको समेत विश्वासको मत लिएर मुख्यमन्त्री बनेको भन्दै उनको पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
यसपटक पनि थापाले पहिले जस्तै 'कीर्ते' गरी सभाध्यक्षको भूमिकामा रहेका मन्सुरीको समर्थन लिँदै मुख्यमन्त्रीको विश्वासको मत लिएका हुन् ।













