News Griha :: न्यूजगृह
आन्दोलनबाट सामुदायिक विद्यालयका कर्मचारी सेवासुविधाविहीन छन् भन्ने सबैलाई थाहा भयो : अध्यक्ष तिवारी

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामुदायिक विद्यालयमा कर्मचारी पनि छन् र तिनीहरूले सेवासुविधा पाएका छैनन् भन्ने कुरा बल्ल सबैलाई जानकारी भएको बताएका छन् ।

उनले विद्यालय कर्मचारीको पटक-पटकको आन्दोलनबाट सानादेखि ठूला नेतासम्मलाई सो जानकारी गराउन सफल भएको बताएका हुन् ।

उनले भने,‘हामी विद्यालय कर्मचारीहरू सेवासुविधाविहीन  रहेछौं भन्ने मुलुकमा रहेका साना नेतादेखि ठूलाठूला नेताहरूलाई जानकारी भयो । विगतमा कहिल्यै पनि सदनमा नबोलिएको शब्द ‘विद्यालय कर्मचारी’ अहिले बोलिने गरिएको छ ।’ उनले यो सानो उपलब्धि नभएको बताए ।

‘हामीले तलबमानसहित सुविधा पाएका छैनौं तर त्यो पाउन जुन २०७९ र २०८० मा आन्दोलन गरियो । त्यसबाट वर्तमान परिवेशमा शिक्षा सचिवको हस्ताक्षर भएको ऐनको ड्राफ्टमा विद्यालय कर्मचारीको विषयमा जुन विषयहरू लेखिएका छन् त्यसले हाम्रो केही कुराहरू सम्बोधन गरेको देखिन्छ । त्यो पनि यही आन्दोलनको उपलब्धि हो भन्ने मेरो बुझाइ छ,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:१८
Weather Update