
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । सोमबार दिउँसो बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री थापाको पक्षमा ४७ मत परेको हो भने विपक्षीमा ३० मत परेको हो । प्रदेश सभा बैठकमा ७७ प्रदेश सांसद उपस्थित भएका थिए ।
उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । उनको विपक्षीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेको हो ।
मुख्यमन्त्री थापाले साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर समर्थन लिँदै मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, तत्कालीन सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेको भन्दै उनको पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।













