
विराटनगर— कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेश सभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । उनी नेपाली कांग्रेसका सांसद हुन् ।
उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आएर प्रदेशबाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएकी थिइन् ।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी छन् ।
कोशी प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो ।
जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी थिइन् भने वर्णानु क्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका थिए ।
सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी हुन् ।
प्रदेश सभाको बैठकमा नेकपा एमालेकी तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले बिदामा बस्ने जानकारी गराइसकेका छन् ।













