
काठमाडौ— संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो ।
श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो । उनीविरूद्ध तीन वटा उजुरी परेको थियो ।
संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो ।
साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।













