
काठमाडौं— हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरूका लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित १० औं उड्डयन सुरक्षा अभियान कार्यक्रममा उपमहानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् ।
‘अब हाम्रो प्राथमिकता लुक्ला रहेको छ, पर्यटकीय सिजन हुने भएकाले लुक्लामा फोकस गरेका हौँ,’ उनले भने, ‘हिजो मात्र हामीले महावीर पुनलाई बोलाएर क्यामाराहरू कहाँ राख्ने भनेर पाइलटहरूसँग पनि छलफल गरेका छौँ ।’
हवाई दुर्घटनालाई कम गर्न र पर्यटकहरूको चाहना पूरा गर्नका लागि भए पनि विभिन्न तालिममार्फत पाइलटहरूदेखि लिएर सबैलाई तयार गर्ने कार्य भइरहेको उपमहानिर्देशक ठाकुरको भनाइ छ ।
‘मानव सुरक्षालाई प्राथमिकतामा राखिने छ, पाइलटहरूलाई मौसमको वास्तविक स्थिति के छ र अब आउने दुई तीन घण्टामा के परिवर्तन हुन्छ ? भनेर तालिमहरू दिने गरेका छौँ,’ उनले भने, ‘सेप्टेम्बरको पहिलो हप्तादेखि पर्यटक सिजन सुरु हुँदैछ, त्योभन्दा अगाडि नै हामी त्यहाँ अन्तरक्रिया कार्यक्रम गर्दै छौँ, के-के गर्न सकिन्छ त ? जसले गर्दा दुर्घटना हुँदैन, सय वटा दुर्घटना भइसक्यो, अब नहोस् भनेर हामी अन्तरक्रिया कार्यक्रम गर्दै छौँ ।’
उपमहानिर्देशक ठाकुरले सेप्टेम्बरको पहिलो हप्तादेखि सुरु हुने पर्यटकीय सिजनभन्दा अगाडि नै लुक्लामा अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।













