
काठमाडौं— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिको प्रशंसा गरेका हुन् । उनले समाजवादी चिन्तकका रुपमा बीपीपछि कसैको नाम लिने हो भने प्रदीपकै नाम आउने दाबी गरे ।
‘समाजवादी चिन्तकका रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप जीकै नाम लिनु पर्ने हुन्छ, उहाँ धेरै ठूलो विद्वान हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो,’ सभापति देउवाले भने, ‘उहाँका कृतिहरू छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले सहयोग गर्नेछ, त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’
सभापति देउवाले स्व. प्रदीप गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।













