
तनहुँ— जिल्लाको व्यास नगरपालिकाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ ।
खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लामा खसीबोका पालन कृषकको संख्या बढ्दै गएकाले प्रोत्साहन गर्न पहिलोपटक अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ थियो ।
‘प्रतिकिलो दश रुपैयाँका दरले अनुदान वितरण गरिने छ, त्यसका लागि २० लाख बजेट विनियोजन भएको छ,’ केन्द्र प्रमुख डा. श्रेष्ठले भने ।
बाख्रा पालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने छ । उनका अनुसार बाख्रा पालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइने छ ।
जिल्लाका व्यास नगरपालिका सहित ऋषिङ, देवघाट र घिरिङ गाउँपालिकामा बाख्रा पालन गर्ने कृषकको संख्या बढी छ । त्यहाँका कृषकले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् ।
‘सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्दा तथ्यांक लिन सहज हुन्छ,’ उनले भने, ‘यो कार्यक्रमले खसीबोका पालनमा कृषकको आकर्षण अझै बढ्ने विश्वास छ ।’
कार्यालयले यसै वर्षदेखि बाँझो जग्गा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । त्यसका लागि १८ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
कार्यालयले ६२० रोपनी क्षेत्रफलमा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने छ । प्रति रोपनी तीन हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।













