
काठमाडौं— काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ ।
योसँगै महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगर क्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण सम्बन्धमा महानगरलाई आवश्यक पर्ने श्रम शक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ ।
महानगरले चालु आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति ल्याएको थियो ।
योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुने तथा रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ ।
महानगर क्षेत्रमा चालु आवका लागि श्रम गर्न इच्छुक व्यक्तिहरूले तोकिएको फाराममा आवश्यक विवरणसहित आफू बसेको वडा कार्यालय वा महानगरको रोजगार सेवा केन्द्रमा पेस गर्नु पर्दछ ।
रोजगारीका क्रममा महानगरबासीले विशेष प्राथमिकता पाउने छन् । महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिँदा यसै सूचीकरण बमोजिम मात्र लिइने जनाएको छ ।













