News Griha :: न्यूजगृह
सात हात्तीसहितको टोलीले बाघ नियन्त्रणमा लिन सकेन
फाइल तस्बिर

चितवन— बस्तीमा देखिँदै आएको बाघ नियन्त्रण गर्ने चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । 

पश्चिम चितवनको भरतपुर महानगर-२६, २७ र २८ सहितका क्षेत्रमा देखिएको बाघ नियन्त्रण गर्न निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि टोली परिचालन भए पनि बाघलाई नियन्त्रणमा लिन नसकेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले बाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् । 

बाघलाई नियन्त्रण गर्न दैनिक सात वटा हात्ती परिचालन गरिएको उनको भनाइ थियो । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटे पनि ‘डार्ट’ गर्न नसक्दा नियन्त्रणमा लिन नसकेको हो ।

अनुमानित आठ वर्षको बाघ बस्ती नजिकै आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन खोजिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

‘बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो, यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ,’ उनले भने । बस्ती क्षेत्रमा देखिँदा बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको हो ।

निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् । कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो ।

गत वर्ष चितवनकै माडीमा मान्छेलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

सौराहामा रहेका दुई बाघमध्ये एउटा साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएको हो भने अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १०:५८
Weather Update