मौर्चा बैठक
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा बृहत् सभा गर्ने, मिति पनि तोकियो

काठमाडौं— समाजवादी मोर्चाले ७ वटै प्रदेशमा बृहत् सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बिहान बसेको मोर्चाको बैठकले ७ वटै प्रदेशमा बृहत् सभा गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाको बैठकले ८ गते वीरगन्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौँडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।
बृहत् सभाबाट समाजवादी मोर्चा बनाउनुको कारण र कामबारे जनतालाई जानकारी दिइने उपाध्यक्ष हमालले जानकारी दिए ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित ४ पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०९:३९













