
नवलपरासी— नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा पहिलोपटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ २ दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।
नेपाल टक्सिनोलोजी संघको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर,स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा नेपालमा नै पहिलोपटक सर्प महोत्सव सञ्चालन गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताए ।
‘सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो’,उनले भने ।
महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने उनले बताए ।
विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा मृत्यु हुने गरेको छ । ‘सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किन भने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो’, उनले भने,‘आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।’
महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ ।
सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापीडी, भाइपीरीडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा.छविलाल थापाले बताए । ‘इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्पजस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्’,उनले भने ।
पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भए पनि सर्प महोत्सव अवलोक गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागी विद्यार्थी मुकेश रानाले बताए । ‘पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें,अहिले छाला हेरेर सर्प पहिचान गर्नसक्ने भएको छु,’उनले भने ।













