News Griha :: न्यूजगृह
पहिरोले म्याग्दीको सुवा गाउँका १० परिवार विस्थापित

म्याग्दी— पहिरोबाट अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँका १० घरपरिवार विस्थापित भएका छन् ।  गत साउन ३२ गते रातिको भारी वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।

पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिए ।

उनको भनाइमा दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्कबिच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो ।

पहिरोको चपेटामा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा बसोबासका लागि आवतजावन गर्न आइतबार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।

पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा लगेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् । 

पहिरोको उच्च जोखिममा रहेका १० घरपरिवारका ४० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् ।

सुवा गाउँ पहिरो जोखिममा रहेको अवस्थाबारे आइतबार गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी लगायतको टोलीले स्थलगत निरीक्षण गरेका थिए ।

गाउँको पुछार र शिरानबाट नै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा राखेर खाना र बसोबासको प्रवन्ध मिलाउने काममा गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

अहिले सुवामा सुकेबगर र द्ववारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकांश पहिरोले बगाएको छ । पहिरोले गाउँको सम्पर्कबिच्छेद गराएको र धेरै घर जोखिममा रहेको देखिएको स्थलगत निरीक्षणमा पुगेका प्रदेश सभा सदस्य भण्डारीले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:०७
Weather Update