
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको बताएको छ । जस कारण नेपालमा चट्याङसहित वर्षा भइरहेको छ ।
महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित वर्षा भइरहेको जनाएको हो ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













