News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय समितिमा सुनुवाइ हुँदै

काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुँदै छ ।

संसदीय सुनुवाइ समितिले श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्न लागेको हो । 

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरू सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:१८
Weather Update