
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाइएको सर्वदलीय बैठक सोमबार पनि बस्दैछ। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक आइतबार पनि बस्न बसेको थियो।
आइतबार भएको छलफलमा विभिन्न विकल्पका बारेमा कुराकानी भएपनि सहमति हुन नसकेपछि बैठक सोमबारका लागि बोलाइएको हो। बैठक सिंहदरबारमा अपरान्ह चार बजेका लागि बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नबनेसम्म बैठक चल्न नसक्ने अडान लिँदै आएको छ।
संघीय संसद्मा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताएका छन्।
सदनमा निरन्तर अवरोध हुँदा राष्ट्रिय महत्वका विभिन्न विधेयकमा छलफल हुन नपाएको तथा मुलुकका सामु देखा परेका समस्याका बारेमा समेत सांसदहरुले धारणा राख्न नपाएको भन्दै आफूहरूले तत्काल बैठक चल्नुपर्ने धारणा राखेका थिए।
उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक शुक्रबारसम्म स्थगित भएको छ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ।













