News Griha :: न्यूजगृह
माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं— नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले सरकारले आफ्ना माग पूरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणा पत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदै गर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढंगले प्रस्तुत हुने चेतावनी दिएको हो ।

कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले संघीय निजामती ऐन पास गरेन र गरिहाले पनि आफूहरूले उठाएका मुद्दालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

‘लोकसेवाबाट जुन सहमति भएर त्यो ऐन फर्केर आएपछि हाम्रो केही कुरा सम्बोधन भएर आएन भने अरु ट्रेड यूनियनले आन्दोलन गर्छन्, गर्देनन् थाहा छैन,’ उनले भने, ‘नेपाल निजामति कर्मचारीले कडा आन्दालनको घोषणा गर्छ ।’

उनले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च अहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अपठ्यारो गरिरहेको दाबी गरे ।

राष्ट्रिय भेला तथा विधान अधिवेशन–२०८० भव्यताका साथ सफल भएको बताएका उनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० सम्पूर्ण जिल्ला तथा विभागीय अध्यक्षहरू, महाधिवेशन प्रतिनिधिहरू र आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूले व्यक्त गरेको विचार र सुझावका आधारमा यस अगाडि युनियनले गरेका निर्णय र कार्यक्रमप्रति समर्थन गर्दै ‘काठमाडौँ घोषणापत्र–२०८०’ जारी गरेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:५४
Weather Update