News Griha :: न्यूजगृह
विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै राजर्षि जनक विश्वविद्यालय

काठमाडौं— कर्मचारी र शिक्षकबीचको विवादका कारण जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

मधेस प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीचको विवादले विद्यार्थीहरुले परीक्षा फारमसमेत भर्न पाएका छैनन् । विश्वविद्यालय आन्दोलनको अखडा बनेको छ । विश्वविद्यालयमा करीब ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ ।

यस्तै, रजिष्ट्रार, डीन लगायतका पदाधिकारी नभएको पनि ११ महिना बढी भइसक्यो । तर सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन । विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरुले समयमा नै परीक्षामा फर्म भर्न समेत नपाएको विद्यार्थीहरुको गुनासो छ ।

विश्वविद्यालयको बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यवस्थापन कमजोर रहेको बताउँछन् । उनले विद्यार्थीहरुको गुनासो सुन्ने ब्यक्तिसमेत नभएको बताए । विद्यालयमा भर्ना भएको हिसावले हेर्दा उनी अहिले ५औँ सेमेस्टरमा पुग्नुपर्ने हो । तर तेस्रो सेमेस्टरको परीक्षा कै तयारीमा छन् । यस्तै अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताउँछन् । परीक्षा फारम कहाँ गएर भर्ने भन्ने टुङ्गो नभएको उनी बताउँछन् ।

विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताए । राजर्षि जनक विश्व विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ ।

जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:५९
Weather Update