
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आएका धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरबाबा)सँग भेट गरेको बताएका छन् ।
‘स्वामी आनन्द अरुण जी मेरो मित्र, उहाँले के भन्नु भो भने भारतबाट एक जना आध्यात्मिक गुरु आउनु भएको छ, ऊसँग भेट्दा राम्रै हुन्छ भन्नु भो,’ उनले भने, ‘मैले धीरेन्द्र शास्त्री जीको नाम सुनेको हैन, उहाँको बारेमा कहिले चर्चा गरेको पनि हैन ।’
यसै क्रममा गृहमन्त्री श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टुंगोमा पुर्याउने बताए ।
आइतबार पत्रकारसँग कुरा गर्दै उनले सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेकाले टुंगोमा पुर्याउने दाबी गरे । यस क्रममा उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको जानकारी दिए ।
उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रीत थियो, छलफल सकारात्मक छ, हामीलाई विश्वास छ, भोलिसम्म निस्कर्ष सकारात्मक भएर सदन खुल्ला कि भन्ने आशावादी छौँ ।’













